काठमाडौं । सेयर बजारसम्बन्धी तालिम तथा प्रशिक्षणका नाममा भ्रामक सूचना प्रवाह, अवैज्ञानिक लगानी सल्लाह र ठगीका घटना बढ्दै गएको भन्दै लगानीकर्ताहरूले 'सर्टिफिकेसन प्रणाली' तत्काल लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
लगानीकर्ताहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमबाट आफूलाई सेयर बजार विशेषज्ञ भन्दै तालिम सञ्चालन गर्ने व्यक्तिहरूको संख्या बढ्दो छ। पर्याप्त ज्ञान, अनुभव वा आधिकारिक मान्यता नलिई सञ्चालन गरिएका यस्ता तालिमका कारण नयाँ लगानीकर्ता आर्थिक रूपमा समेत प्रभावित हुने गरेका छन्।
उनीहरूले सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने प्रशिक्षक तथा संस्थालाई निश्चित मापदण्डमा आधारित सर्टिफिकेसन प्रणाली अन्तर्गत ल्याउनुपर्ने, पाठ्यवस्तु, प्रशिक्षकको योग्यता तथा आचारसंहिता स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने बताएका छन्।
लगानीकर्ताहरूले नियामक निकायले यस्ता तालिमहरूको प्रभावकारी अनुगमन गरी अनधिकृत तथा भ्रामक तालिम सञ्चालन गर्ने व्यक्ति वा संस्थामाथि आवश्यक कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन्।
उनीहरूका अनुसार प्रमाणित तथा व्यवस्थित तालिम प्रणाली लागू भएमा लगानीकर्ताको वित्तीय साक्षरता अभिवृद्धि हुनुका साथै सेयर बजारप्रति विश्वाससमेत थप मजबुत हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0