‘फिनटेक इनोभेसन शोकेस २०२६’
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको नवप्रवर्तन, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस इभेन्ट २०२६’ सम्पन्न भएको छ। सोमबार काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको परिसरमा आयोजित उक्त कार्यक्रममा वित्तीय प्रविधिका नवीनतम उत्पादन, सेवा, प्रविधि तथा अवधारणाहरू प्रदर्शन गरिएको थियो।
‘दिगो प्रभावका लागि नवीन सोच’ (Ideas for Lasting Impact) भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रविधि कम्पनी तथा संस्थाहरूले आफ्ना नवीन वित्तीय समाधान प्रस्तुत गरेका थिए। कार्यक्रममा कुल २७ वटा प्रदर्शनी स्टलमार्फत डिजिटल वित्तीय सेवासँग सम्बन्धित नवीनतम प्रविधि तथा समाधानहरू प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा डिजिटल कर्जा (Digital Lending), कृत्रिम बौद्धिकता (Artificial Intelligence), ओपन बैंकिङ (Open Banking), साइबर सुरक्षा (Cyber Security), क्लाउड कम्प्युटिङ तथा डिजिटल वित्तीय सेवासम्बन्धी प्रविधिहरूलाई प्राथमिकता दिइएको थियो। यसले नेपालको वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग र सम्भावित नवप्रवर्तनबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाहको शैलीमा परिवर्तन ल्याइरहेको बताए। कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा विश्लेषणजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्त्वपूर्ण सुधार ल्याउन सक्ने उनको भनाइ थियो।
यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुका साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा योगदान पुर्याउने गभर्नर पौडेलले उल्लेख गरे।
उनले नेपालको डिजिटल वित्तीय सेवाको यात्रा विद्युतीय कार्ड, एटीएम तथा एसएमएस बैंकिङबाट सुरु भएर अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड र नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताए।
फिनटेक विकासका लागि राष्ट्र बैंकका पहल
गभर्नर पौडेलका अनुसार राष्ट्र बैंकले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै आएको छ।
यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब (Digital Finance Innovation Hub) स्थापना, नियामकीय स्यान्डबक्स (Regulatory Sandbox) कार्यान्वयन तथा सन् २०२६/२७ देखि २०३०/३१ सम्मका लागि वित्तीय सेवासम्बन्धी फिनटेक रणनीति अघि बढाएको छ।
यी पहलले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र प्रविधिमा आधारित नवप्रवर्तकबीच सहकार्य बढाउनुका साथै नयाँ वित्तीय सेवा तथा व्यावसायिक मोडेल विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल कर्जा र वित्तीय पहुँचमा विशेष छलफल
कार्यक्रममा ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर द अन्डरसर्भ्ड’ (Digital Lending and Credit for the Underserved) विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो।
छलफलमा बैंकिङ तथा वित्तीय सेवाको पहुँचबाट बाहिर रहेका र पर्याप्त सेवा नपाएका समुदायसम्म प्रविधिको माध्यमबाट कर्जा तथा वित्तीय सेवा विस्तार गर्ने सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो।
विशेषगरी डिजिटल प्रविधिको प्रयोगबाट वित्तीय सेवा प्रवाहलाई सहज, छिटो, सुलभ र समावेशी बनाउन सकिने सम्भावनालाई कार्यक्रममा महत्त्व दिइएको थियो।
कार्यक्रमले वित्तीय प्रविधि क्षेत्रमा काम गरिरहेका नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, विप्रेषण कम्पनी, विकास साझेदार, सरकारी निकाय तथा नियामकबीच संवाद र सहकार्य विस्तार गर्ने साझा मञ्च प्रदान गरेको छ।
नेपालमा डिजिटल वित्तीय सेवाको विस्तारसँगै प्रविधिमा आधारित नयाँ व्यावसायिक अवधारणा, सुरक्षित भुक्तानी प्रणाली र वित्तीय समावेशिताको सम्भावना बढिरहेको अवस्थामा यस्तो कार्यक्रमले नेपालको फिनटेक इकोसिस्टम विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0