काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (Excess Liquidity) कायम रहेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार फेरि ७० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। राष्ट्र बैंकले ७७ दिने निक्षेप संकलन (Deposit Collection) उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
यसअघि जेठ २० गते राष्ट्र बैंकले ५६ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यसको दुई दिनपछि नै थप ७० अर्ब रुपैयाँ खिच्न लागिएको हो, जसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक रहेको संकेत गर्छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढिरहे पनि कर्जा विस्तार अपेक्षाकृत कमजोर रहेको छ। यही कारण बैंकहरूमा ठूलो मात्रामा निष्क्रिय रकम थुप्रिएको छ। अधिक तरलताले अन्तरबैंक ब्याजदर तथा निक्षेप ब्याजदरमा थप दबाब सिर्जना गर्न सक्ने भएकाले राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत रकम सोस्ने रणनीति अपनाइरहेको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धात्मक ब्याजदरमा बोलकबोल गर्न सक्नेछन्। प्राप्त प्रस्तावका आधारमा न्यून ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ ।
चालु आर्थिक वर्षभर राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा (SDF) तथा राष्ट्र बैंक ऋणपत्रजस्ता उपकरण प्रयोग गरेर ठूलो परिमाणमा तरलता व्यवस्थापन गर्दै आएको छ ।
प्रतिक्रिया 0