वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन र वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक, २०८३ ले केन्द्रीय बैंकको वित्तीय क्षमता, जोखिम व्यवस्थापन तथा वित्तीय प्रणालीको स्थायित्व सुदृढ बनाउन राष्ट्र बैंकअन्तर्गत चार वटा नयाँ कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित ऐनको दफा ३९क मा साधारण जगेडा कोष, पुनर्मूल्यांकन जगेडा कोष, वित्तीय विकास कोष र विशेष जगेडा कोष स्थापना गर्ने व्यवस्था गरिएको छ।
विधेयकअनुसार साधारण जगेडा कोष राष्ट्र बैंकको सम्भावित नोक्सानी व्यवस्थापन तथा पुँजी सुदृढीकरणका लागि प्रयोग हुनेछ। त्यस्तै पुनर्मूल्यांकन जगेडा कोष विदेशी मुद्रा सञ्चिति, सुन, वित्तीय उपकरण तथा अन्य सम्पत्तिको पुनर्मूल्यांकनबाट हुने नाफा वा नोक्सानीको लेखाङ्कनका लागि स्थापना गरिनेछ।
यसैगरी, वित्तीय विकास कोष स्थापना गरी वित्तीय प्रणालीको स्थायित्व, बैंकिङ पहुँच विस्तार (Financial Inclusion), वित्तीय क्षेत्रको सुदृढीकरण तथा समग्र वित्तीय प्रणालीको विकासमा खर्च गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। यो कोषको आकार राष्ट्र बैंकको कुल मौद्रिक दायित्वको पाँच प्रतिशतभन्दा बढी नहुने उल्लेख गरिएको छ।
विधेयकले विशेष जगेडा कोष को व्यवस्था पनि गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार विशेष उद्देश्यका लागि स्थापना गरिने यो कोषको आकार कुल मौद्रिक दायित्वको दुई प्रतिशतसम्म सीमित रहने प्रस्ताव गरिएको छ। यस कोषको सञ्चालन तथा उपयोग सम्बन्धी व्यवस्था सञ्चालक समितिले निर्धारण गर्नेछ।
प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि राष्ट्र बैंकले जोखिम व्यवस्थापन, वित्तीय संकटको सामना, वित्तीय समावेशीकरण विस्तार तथा संस्थागत क्षमता अभिवृद्धिका लागि छुट्टाछुट्टै कोष सञ्चालन गर्न सक्ने कानुनी आधार प्राप्त गर्नेछ। बैंकिङ विज्ञहरूका अनुसार यसले नेपाल राष्ट्र बैंकलाई अन्तर्राष्ट्रिय केन्द्रीय बैंक अभ्यासअनुसार थप संस्थागत रूपमा सक्षम, लचिलो र वित्तीय स्थायित्वमा केन्द्रित नियामकका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस
राष्ट्र बैंक ऐन संशोधन विधेयक : गभर्नरलाई प्रमुख कार्यकारीको जिम्मेवारी प्रस्ताव
प्रतिक्रिया 0