नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार सूचना जारी गर्दै इच्छुक व्यक्ति, उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ–संस्था तथा अन्य सरोकारवालालाई आफ्ना सुझाव उपलब्ध गराउन आह्वान गरेको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुअघि सरोकारवालासँग परामर्श र सुझाव संकलन गर्ने अभ्यासअनुसार यस वर्ष पनि सुझाव मागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आगामी असार ५ गतेभित्र सुझाव पेश गर्न सकिनेछ। सुझावहरू बालुवाटारस्थित आर्थिक अनुसन्धान विभागमा प्रत्यक्ष रूपमा बुझाउन वा इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको अवस्थामा अब त्यससँग समन्वय हुने गरी मौद्रिक नीति निर्माणको तयारी भइरहेको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, निजी क्षेत्रको कर्जा विस्तार, ब्याजदर, मुद्रास्फीति नियन्त्रण तथा आर्थिक गतिविधि चलायमान बनाउने विषय आगामी मौद्रिक नीतिका प्रमुख एजेन्डा बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 0