खुद नाफा ६ अर्ब २३ करोड, प्रतिशेयर आम्दानी १६.३४ रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशत बढी हो।
बैंकको सञ्चालन नाफा २०.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफामा भएको सुधारले बैंकको समग्र वित्तीय कार्यसम्पादन मजबुत बन्दै गएको देखाउँछ।
यद्यपि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँ मा सीमित भएको छ। बजारमा ब्याजदर घट्नु र स्प्रेड संकुचन हुनु यसको प्रमुख कारण मानिन्छ। तर बैंकले शुल्क तथा कमिसन आम्दानी १३.०६ प्रतिशतले बढाएर ३ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ।
बैंकको कुल सञ्चालन आम्दानी २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज ५ अर्ब ९८ करोड रुपैयाँबाट घटेर ४ अर्ब ७९ करोड रुपैयाँ मा झरेको छ। यसले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।
समीक्षा अवधिमा ग्राहक निक्षेप २१.५३ प्रतिशतले बढेर ६६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो निक्षेपमध्ये एक हो। कर्जा लगानी पनि ७.१३ प्रतिशतले बढेर ४३९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी (EPS) १६.३४ रुपैयाँ, वितरणयोग्य EPS १२.०२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ पुगेको छ।
यद्यपि बैंकको निष्क्रिय कर्जा (NPL) ४.९६ प्रतिशत रहेको छ, जुन अझै केही उच्च मानिन्छ। कर्जा–निक्षेप अनुपात (CD Ratio) ६८.४३ प्रतिशत रहेकाले बैंकसँग पर्याप्त तरलता रहेको देखिन्छ।
समग्रमा खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि गैर-ब्याज आम्दानी र इम्पेयरमेन्ट खर्च घटेकाले बैंकले सन्तोषजनक नाफा वृद्धि हासिल गरेको देखिन्छ।
No advertisements available
प्रतिक्रिया 0