काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम छुट्याइएको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।
त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि हुने र रकममा करसमेत समावेश रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तथा साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ७२९ रुपैयाँ २६ पैसा रहेको छ।
No advertisements available
प्रतिक्रिया 0