काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक नयाँ दरअनुसार २० वाणिज्य बैंकमध्ये ६ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.९०६ प्रतिशत कायम भएको छ। जबकि कात्तिक महिनामा यस्तो ब्याजदर औसत ४.०१३ प्रतिशत थियो। यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि घटेको छ। कात्तिकमा ३.००३ प्रतिशत रहेको औसत ब्याजदर मंसिरमा २.९९०५ प्रतिशतमा झरेको छ।
मंसिर महिनामा ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरेको छ।
त्यस्तै, कृषि विकास बैंकले ०.५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएको छ। अब बैंकले व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याज दिनेछ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ०.०९ प्रतिशतविन्दुले घटाएर ३.६१ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।
मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंक सानिमा बनेको छ। बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ।
त्यस्तै, प्रभु बैंकले ४.२५ प्रतिशत, नेपाल बैंकले ४.१५ प्रतिशत तथा हिमालयन बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुनु र कर्जाको माग अपेक्षाकृत कमजोर रहनुले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन सहज बनाएको देखिन्छ। निक्षेपको लागत घट्दा बैंकहरूको आधार दरमा समेत कमी आउने सम्भावना रहन्छ, जसले आगामी दिनमा कर्जाको ब्याजदरलाई पनि प्रभावित गर्न सक्छ।
तर निक्षेपको ब्याजदर घट्दा बैंकमा मुद्दती निक्षेप राखेर नियमित आम्दानी गर्ने बचतकर्ताको प्रतिफल भने खुम्चिने देखिन्छ।
No advertisements available
प्रतिक्रिया 0