जलवायु संकटको असर भान्सासम्म

बाढी, खडेरी र गर्मीले बढायो खाद्य जोखिम

सोमबार, १५ भदौ २०८३, बेलुका ५:३३


जलवायु परिवर्तनको असर अब वातावरण र मौसममा मात्रै सीमित नरही मानिसको भान्सासम्म पुग्न थालेको छ। खडेरी, बाढी, अत्यधिक गर्मी तथा अन्य चरम मौसमी घटनाले कृषि प्रणालीमा बारम्बार धक्का दिँदा बाली उत्पादन प्रभावित हुने र त्यसको असर खाद्यान्नको आपूर्ति तथा मूल्यमा पर्न थालेको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकाय (UN Climate Change/UNFCCC) का अनुसार  चरम मौसमका कारण खेतमा लगाइएको बाली नष्ट वा उत्पादनमा कमी आएपछि बजारमा खाद्यान्नको आपूर्ति घट्छ। मागको तुलनामा आपूर्ति कम हुँदा मूल्य बढ्ने दबाब सिर्जना हुन्छ। यसरी खेतमा देखिएको जलवायु संकट क्रमशः बजार हुँदै उपभोक्ताको भान्सासम्म पुग्ने गरेको छ।

अत्यधिक गर्मीले बालीको वृद्धि र उत्पादन क्षमतामा असर पार्छ भने लामो समयको खडेरीले माटोमा आवश्यक चिस्यान र पानीको उपलब्धता घटाउँछ। अर्कोतर्फ, अत्यधिक वर्षा र बाढीले खेत डुबाउने, माटो बगाउने तथा पाक्न लागेको बालीसमेत नष्ट गर्ने जोखिम बढाउँछ। यस्तो अवस्थाले किसानको उत्पादन मात्र घटाउँदैन, आगामी मौसमका लागि बीउ, पशुपालन र कृषि लगानीमा समेत असर पार्न सक्छ।

यसको असर विश्व खाद्य बजारमा समेत देखिन थालेको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक जुलाई २०२६ मा १३१.१ अंक पुगेको थियो, जुन सन् २०२३ को जनवरीयताकै उच्च स्तर हो। जुनको १३०.३ अंकको तुलनामा जुलाईमा सूचकांक ०.६ प्रतिशत बढेको थियो। 

एफएओका अनुसार जुलाईमा खाद्यान्नको मूल्य बढ्नुमा प्रतिकूल मौसमले पनि महत्वपूर्ण भूमिका खेलेको थियो। विशेषगरी अनाज, चिनी र वनस्पति तेलको मूल्य बढेको थियो। अनाजको मूल्य मात्रै एक महिनामा ३.४ प्रतिशत बढेको थियो भने गहुँको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो। अत्यधिक गर्मी र उत्पादनमा क्षतिको चिन्ताले प्रमुख उत्पादक मुलुकमा गहुँको आपूर्तिमाथि दबाब सिर्जना गरेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्। 

जलवायु जोखिमसँगै एल निनोले पनि कृषि उत्पादनमा थप अनिश्चितता सिर्जना गरिरहेको छ। एफएओका अनुसार एल निनोका कारण केही क्षेत्रमा वर्षाको कमी, खडेरी र उत्पादनमा गिरावट आउन सक्छ भने अन्य क्षेत्रमा अत्यधिक वर्षा र बाढीको जोखिम बढ्न सक्छ। यसले बाली, पशुपालन र किसानको आम्दानीमा प्रत्यक्ष असर पार्न सक्छ। 

खाद्य उत्पादनमा पर्ने जलवायुजन्य धक्काले मूल्य मात्रै बढाउँदैन, खाद्य सुरक्षामाथि समेत गम्भीर चुनौती सिर्जना गर्छ। विशेषगरी आम्दानीको ठूलो हिस्सा खाद्यान्नमा खर्च गर्नुपर्ने न्यून तथा मध्यम आय भएका परिवारहरू मूल्य वृद्धिबाट बढी प्रभावित हुन्छन्। खाद्यान्न महँगिँदा उनीहरूले उपभोग घटाउने, कम पौष्टिक विकल्प रोज्ने वा अन्य आवश्यक खर्च कटौती गर्ने अवस्था आउन सक्छ।

यससँगै कृषि उत्पादनका लागि आवश्यक मल, इन्धन र ढुवानी लागतमा वृद्धि भएमा खाद्य मूल्यमा थप दबाब पर्न सक्छ। पछिल्लो समय विश्व खाद्य बजारमा मौसमजन्य जोखिमसँगै ऊर्जा, मल तथा आपूर्ति शृंखलामा देखिएका अवरोधले पनि मूल्यलाई प्रभावित गरिरहेका छन्। 

यसरी हेर्दा जलवायु परिवर्तन ‘खेतदेखि भान्सासम्म’ पुग्ने आर्थिक चुनौती बन्दै गएको छ। मौसममा हुने चरम परिवर्तनले उत्पादन घटाउने, उत्पादन घट्दा आपूर्ति कम हुने र आपूर्ति घट्दा खाद्य मूल्य बढ्ने चक्रले विश्वका करोडौँ मानिसको खाद्य सुरक्षामा दबाब सिर्जना गर्न सक्छ।

त्यसैले जलवायु परिवर्तनसँग जुध्न उत्सर्जन घटाउने प्रयाससँगै जलवायु अनुकूल कृषि, पानी व्यवस्थापन, खडेरी तथा बाढी सहन सक्ने बाली, पूर्वसूचना प्रणाली र किसानको जोखिम व्यवस्थापनमा लगानी बढाउनु आवश्यक देखिन्छ। खाद्य प्रणालीलाई जलवायुजन्य धक्काबाट जोगाउन नसके आगामी दिनमा जलवायु संकट वातावरणीय समस्यामात्र नभई खाद्य महँगी र जीवनयापनको संकटका रूपमा अझ गहिरिन सक्ने जोखिम छ।

प्रतिक्रिया 0