व्यक्तिगत जीवनशैली र जलवायु उत्थानशीलता

शुक्रबार, २ आश्विन २०८३, बिहान ११:५१


जलवायु परिवर्तन विश्वकै प्रमुख चुनौती बन्दै गएको अवस्थामा यसको समाधानका लागि सरकार र व्यवसाय मात्र होइन, हरेक व्यक्तिको दैनिक व्यवहार पनि महत्वपूर्ण हुने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी)ले जनाएको छ। जीवाश्म इन्धनको प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन बढिरहेको र यसले पृथ्वीको तापक्रम तथा जलवायु प्रणालीमा गम्भीर असर पारिरहेको अवस्थामा व्यक्तिगत तहबाट गरिने साना–साना परिवर्तनले पनि उत्सर्जन घटाउन र दिगो जीवनशैली विकास गर्न योगदान पुर्‍याउन सक्ने यूएनईपीको भनाइ छ।

जलवायु परिवर्तन नियन्त्रणको मुख्य जिम्मेवारी सरकार र ठूला व्यवसायको भए पनि व्यक्तिहरूको भूमिका पनि महत्वपूर्ण छ। विश्वको सबैभन्दा धनी १० प्रतिशत जनसंख्या मात्रै विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब आधासँग जोडिएको उल्लेख गर्दै यूएनईपीले बढी उपभोग गर्ने वर्गले आफ्नो कार्बन पदचिह्न घटाउन विशेष ध्यान दिनुपर्ने बताएको छ।

पहिलो उपाय यातायातमा परिवर्तन हो। छोटो दूरीका लागि सम्भव भएसम्म पैदल हिँड्ने वा साइकल प्रयोग गर्ने तथा लामो दूरीमा सार्वजनिक यातायात वा कारपुलिङ रोज्दा उत्सर्जन घटाउन सकिन्छ। यूएनईपीका अनुसार निजी सवारीको प्रयोग पूर्ण रूपमा हटाउन सकिने अवस्थामा वार्षिक दुई टनसम्म कार्बन डाइअक्साइड उत्सर्जन घट्न सक्छ। यससँगै वायु प्रदूषण, ट्राफिक चाप र इन्धन खर्च पनि कम गर्न सकिन्छ।

दोस्रो, ऊर्जा खपतमा सचेत हुन आवश्यक छ। अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने, एलईडी बत्ती र ऊर्जा–दक्ष उपकरण प्रयोग गर्ने, सम्भव भएसम्म चिसो पानीमा कपडा धुने तथा कपडा प्राकृतिक रूपमा सुकाउने जस्ता सामान्य बानीले विद्युत् खपत घटाउन सक्छन्। मोबाइल, कम्प्युटरलगायत विद्युतीय उपकरण बिग्रिएमा तुरुन्त फाल्नुको सट्टा मर्मत गर्ने र लामो समयसम्म प्रयोग गर्ने बानीले उपकरण उत्पादन तथा फोहोरबाट हुने वातावरणीय प्रभाव पनि घटाउँछ।

तेस्रो, घरलाई ऊर्जा–दक्ष बनाउनु हो। घरमा प्राकृतिक हावा आवतजावतको व्यवस्था, छायाँ, परावर्तित छाना तथा उचित ताप नियन्त्रणजस्ता उपायले घरभित्रको तापक्रम व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछन्। यूएनईपीका अनुसार प्राकृतिक शीतलीकरणका केही उपायले घरभित्रको तापक्रम आठ डिग्री सेल्सियससम्म घटाउन सक्ने अवस्था हुन सक्छ। घरको इन्सुलेसन सुधार गर्ने वा ऊर्जा–दक्ष ताप तथा शीत प्रणाली प्रयोग गर्दा कार्बन उत्सर्जनसँगै ऊर्जा खर्च पनि घटाउन सकिन्छ।

चौथो, खानपानमा परिवर्तन आवश्यक छ। खाद्य उत्पादनले पनि जलवायुमा प्रभाव पार्ने भएकाले बढी वनस्पतिमा आधारित खाना रोज्नु वातावरणका लागि तुलनात्मक रूपमा कम प्रभावकारी विकल्प हुन सक्छ। फलफूल, तरकारी, पूर्ण अन्न, दाल, केराउ, बदाम तथा अन्य वनस्पतिजन्य खाद्य पदार्थलाई आहारमा बढाउन सकिने यूएनईपीले जनाएको छ। विशेषगरी रातो मासु, दुग्धजन्य पदार्थ र केही पशुजन्य खाद्य उत्पादनको हरितगृह ग्यास उत्सर्जनसँग उच्च सम्बन्ध रहेको उल्लेख गरिएको छ।

पाँचौँ, खाद्यवस्तुको खेरफाल्न रोक्नु हो। विश्वभरका घरपरिवारले दैनिक एक अर्बभन्दा बढी मुल्य बराबर खाना खेर फाल्ने यूएनईपीले जनाएको छ। खाना फाल्नु भनेको त्यसको उत्पादन, प्रशोधन, ढुवानी र भण्डारणमा प्रयोग भएको ऊर्जा, पानी, जमिन तथा मलसमेत खेर फाल्नु हो। त्यसैले आवश्यकताअनुसार मात्र खाना किन्ने, भोजनको योजना बनाउने, उचित भण्डारण गर्ने र बाँकी खाना पुनः प्रयोग गर्ने बानीले फोहोर र उत्सर्जन दुवै घटाउन सक्छ। जैविक फोहोरलाई कम्पोस्टमा प्रयोग गर्न सके मिथेन तथा कार्बन डाइअक्साइड उत्सर्जन पनि कम गर्न सकिन्छ।

छैटौँ, वन संरक्षणमा योगदान दिनुपर्छ। वनले वायुमण्डलबाट कार्बन सोसेर जलवायु प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले दिगो रूपमा उत्पादन भएका काठ तथा कागजजन्य सामग्री प्रयोग गर्ने, वन पुनर्स्थापना तथा संरक्षणका अभियानलाई सहयोग गर्ने र अनावश्यक वन विनाश रोक्न योगदान गर्ने काम व्यक्तिगत तहबाट पनि गर्न सकिन्छ।

सातौँ, कम किन्ने र लामो समय प्रयोग गर्ने बानी विकास गर्नुपर्छ। हामीले किन्ने हरेक वस्तुको उत्पादन, कच्चा पदार्थको उत्खनन, प्रशोधन र विश्वभर ढुवानीमा ऊर्जा प्रयोग हुन्छ। त्यसैले आवश्यकताभन्दा बढी सामान खरिद नगर्ने, बिग्रिएका वस्तु मर्मत गर्ने, पुनः प्रयोग गर्ने र सम्भव भएसम्म पुनर्चक्रण गर्ने बानीले उपभोगबाट सिर्जना हुने कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ।

आठौँ, आफ्नो आवाज र आर्थिक छनोटको प्रयोग गर्नुपर्छ। जलवायु अनुकूल नीति र अभ्यासलाई समर्थन गर्ने, वातावरणीय विषयमा समुदायमा सचेतना फैलाउने तथा आफूले खरिद गर्ने वस्तु, समर्थन गर्ने कम्पनी र छनोट गर्ने वित्तीय संस्थाबारे सचेत हुने काम पनि जलवायु कार्यको हिस्सा हो। बैंक तथा वित्तीय संस्थाले विभिन्न परियोजनामा लगानी गर्ने भएकाले व्यक्तिको बैंक छनोटसमेत अप्रत्यक्ष रूपमा भविष्यको आर्थिक तथा वातावरणीय संरचनासँग जोडिन सक्छ।

कुनै एक व्यक्तिको प्रयासले मात्रै जलवायु संकट समाधान गर्न सम्भव छैन। तर व्यक्तिगत छनोटले उत्सर्जन घटाउनुका साथै बजारको माग, उपभोगको प्रवृत्ति र सामाजिक व्यवहारमा परिवर्तन ल्याउन सक्छ। त्यसैले जलवायु परिवर्तनविरुद्धको प्रयास केवल अन्तर्राष्ट्रिय सम्मेलन वा सरकारी नीतिको विषय नभई दैनिक जीवनका निर्णयसँग पनि जोडिएको विषय हो। यातायात, ऊर्जा, खानपान, खाद्य फोहोर, वन संरक्षण र उपभोगमा गरिने परिवर्तनले सामूहिक रूपमा थप जलवायु–मैत्री समाज निर्माण गर्न सहयोग पुर्‍याउन सक्छ।

प्रतिक्रिया 0