४०८ अर्ब क्षति, पुनर्निर्माणमा ७२३ अर्ब आवश्यक
काठमाडौं । गत भदौ १० मा आएको हिमपहिरो, चट्टानी पहिरो र त्यसपछि आएको बाढीका कारण भोटेकोशी–त्रिशूली–नारायणी नदी करिडोरमा ठूलो भौतिक तथा आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को नेतृत्वमा राष्ट्रिय योजना आयोगलगायत सरकारी निकायको सहकार्यमा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) प्रतिवेदनले बाढीबाट कुल ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको विपद् प्रभाव परेको देखाएको छ। यसमध्ये २ खर्ब ७४ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ भौतिक क्षति र १ खर्ब ३३ अर्ब ८० करोड ५८ लाख रुपैयाँ आर्थिक नोक्सानी रहेको छ।
प्रतिवेदनले क्षतिग्रस्त संरचना पुनर्निर्माण, सेवा पुनःस्थापना तथा भविष्यका विपद् जोखिम न्यूनीकरणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। यसको ठूलो हिस्सा दीर्घकालीन पुनर्निर्माणमा खर्च हुने देखिन्छ। प्रारम्भिक ६ महिनाका लागि करिब ८७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने र बाँकी ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। पुनर्निर्माण आवश्यकता क्षति र नोक्सानीभन्दा बढी हुनुको कारण नयाँ संरचना निर्माणसँगै जोखिम न्यूनीकरण र उत्थानशीलता बढाउने उपायसमेत समेटिनु हो।
क्षतिको ठूलो हिस्सा ऊर्जा तथा पूर्वाधार क्षेत्रमा देखिएको छ। जलविद्युत् तथा अन्य ऊर्जा संरचनामा मात्रै १ खर्ब ३४ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ भौतिक क्षति र १६ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ आर्थिक नोक्सानी अनुमान गरिएको छ भने ऊर्जा क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ। निजी घर तथा घरायसी सम्पत्तिमा ६३ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ क्षति भएको अनुमान छ। प्रतिवेदनले पाँच जिल्लाका १५ स्थानीय तहमा ७ हजार ५७० निजी भवन प्रभावित भएको उल्लेख गरेको छ।
यातायात पूर्वाधारमा पनि ठूलो क्षति भएको छ। सडकमा २२ अर्ब ७ करोड २५ लाख रुपैयाँ र पुलमा ११ अर्ब ३५ करोड ११ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ। चार जिल्लामा ३७ वटा मोटरेबल पुल र ६८ वटा ट्रेल ब्रिज प्रभावित भएका छन्। तीमध्ये ३३ वटा मोटरेबल पुल बगेका थिए। नुवाकोटमा मात्रै १४ वटा मोटरेबल पुल बगेका छन्।
बाढीले कृषि, पशुपन्छी, मत्स्यपालन, व्यवसाय तथा जीविकोपार्जनमा पनि गम्भीर असर पारेको छ। कृषि क्षेत्रमा करिब १ हजार ८०६ हेक्टर क्षेत्र प्रभावित भएको छ भने धान र तरकारी उत्पादनमा ठूलो असर परेको छ। शिक्षा क्षेत्रमा १८ विद्यालयका ५६ भवन तथा ३०८ कक्षा कोठा प्रभावित भएका छन्। स्वास्थ्यतर्फ सात स्वास्थ्य संस्था प्रभावित भएका छन्। सांस्कृतिक सम्पदातर्फ ४७ वटा सम्पदा प्रभावित भएको प्रतिवेदनले जनाएको छ।
आरडीएनएले विस्तृत मूल्यांकनका लागि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलाई प्रमुख रूपमा समेटेको छ। बाढीको प्रभाव भने तनहुँ र नवलपरासीसम्म पनि परेको प्रतिवेदनमा उल्लेख छ। २६ अगस्टको हिमपहिरो र त्यसपछि आएको बाढीले भोटेकोशी–त्रिशूली–नारायणी करिडोरमा बस्ती, कृषि भूमि, सडक, पुल, जलविद्युत्, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधारमा असर पुर्याएको हो।
प्रतिवेदनअनुसार पुनर्निर्माणको प्राथमिकता केवल क्षतिग्रस्त संरचना पुनःनिर्माणमा सीमित नराखी जोखिम न्यूनीकरण, नदी नियन्त्रण, पहिरो तथा भू–क्षय व्यवस्थापन, प्रारम्भिक चेतावनी प्रणाली र विपद्–उत्थानशील पूर्वाधार निर्माणतर्फ केन्द्रित गर्नुपर्ने देखिन्छ। यद्यपि आरडीएनए द्रुत मूल्यांकन भएकाले केही तथ्यांक मोडलिङ तथा प्रारम्भिक विवरणमा आधारित छन् र अन्तिम लागत तथा सहायता निर्धारणअघि थप स्थलगत प्रमाणीकरण आवश्यक हुने प्रतिवेदनले स्पष्ट गरेको छ।
No advertisements available
प्रतिक्रिया 0