काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आयोजक मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ। मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
बाङ्गीस्थित वाइएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरसामु ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहिदले २४, विरनदीप सिंहले १४ र मुहम्मद स्याहदात राम्लीले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए। करणको घातक बलिङका कारण मलेसियाको मध्यक्रम र पुछार टिक्न सकेन।
जवाफी ब्याटिङमा नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रनको महत्वपूर्ण पारी खेले। इशान पान्डेले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १२ रनमा अविजित रहे। नेपालले १०४ रनको लक्ष्य २१.४ ओभरमै पूरा गर्दै ६ विकेटको जित सुनिश्चित गरेको हो। पहिलो खेलमा बहराइनलाई पराजित गरेको नेपालले अब समूह चरणमा आफ्नो लय कायम राख्दै अर्को खेलतर्फ अघि बढेको छ।
No advertisements available
प्रतिक्रिया 0