दिगो कृषि प्रणालीमा लगानी आवश्यक
काठमाडौं । एसिया विकास बैंक (ADB) ले जलवायु परिवर्तन, जलस्रोतको अभाव र नदी प्रदूषणका कारण एसिया–प्रशान्त क्षेत्रको खाद्य सुरक्षामा गम्भीर चुनौती थपिएको जनाएको छ। बैंकले खाद्य प्रणालीलाई दीगो, सुरक्षित र उत्थानशील बनाउन स्वच्छ नदी, दिगो जल व्यवस्थापन तथा जलवायु अनुकूल कृषिमा जोड दिएको छ।
एडीबीका कृषि, खाद्य, प्रकृति तथा ग्रामीण विकास विभागका वरिष्ठ निर्देशक छिङफेङ झाङ (Qingfeng Zhang) ले प्रकाशित गरेको ब्लगमा खाद्य सुरक्षा खेतमा हुने उत्पादनमा मात्र सीमित नभई नदी, जलाधार, भू–जल र समग्र पारिस्थितिक प्रणालीको अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन्।
एसिया–प्रशान्त क्षेत्रमा विश्वको आधाभन्दा बढी जनसंख्या बसोबास गरे पनि विश्वको कुल ताजा पानीको २८ प्रतिशत र खेतीयोग्य जमिनको ३० प्रतिशत मात्र उपलब्ध छ। क्षेत्रका तीनचौथाइभन्दा बढी भूभाग जलसंकटको सामना गरिरहेका छन्, जसले कृषि उत्पादन र खाद्य आपूर्तिमा निरन्तर दबाब सिर्जना गरिरहेको छ।
एडीबीका अनुसार हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् भने वर्षा अनियमित बन्दै गएको छ। पछिल्ला वर्षहरूमा बाढी र खडेरीका घटना बढ्दै जाँदा कृषि उत्पादन, सिँचाइ प्रणाली र ग्रामीण जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।
त्यस्तै, अत्यधिक रासायनिक मल र विषादीको प्रयोग, भू–जलको अत्यधिक दोहन तथा नदी प्रदूषणले जलस्रोतको गुणस्तर घटाउँदै कृषि उत्पादन प्रणालीलाई थप कमजोर बनाइरहेको एडीबीले जनाएको छ। यसले खाद्य सुरक्षासँगै जनस्वास्थ्य, जैविक विविधता र आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ।
यी चुनौती समाधानका लागि एडीबीले नदी प्रणालीमा आधारित जल व्यवस्थापन, आधुनिक सिँचाइ प्रविधि, जलाधार तथा सिमसार संरक्षण, जलवायु अनुकूल कृषि, प्राकृतिक स्रोतको दिगो उपयोग र दीर्घकालीन लगानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। साथै, जल, कृषि, स्वास्थ्य र वातावरणसम्बन्धी नीतिहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
जलवायु परिवर्तन र खाद्य सुरक्षा एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। स्वच्छ नदी, सुरक्षित जलस्रोत र दिगो कृषि प्रणालीमा गरिएको लगानीले भविष्यको खाद्य सुरक्षा, आर्थिक स्थायित्व र जलवायु उत्थानशीलता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले नदी संरक्षणलाई वातावरणीय विषय मात्र नभई खाद्य सुरक्षा र दिगो विकासको आधार का रूपमा लिनुपर्ने एडीबीको निष्कर्ष छ।
No advertisements available
प्रतिक्रिया 0