काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनासँगै सीमा स्तम्भहरूसमेत बगेका थिए। बाढीपछि प्रभावित क्षेत्रमा सीमा पहिचान तथा राष्ट्रिय झण्डा पुनर्स्थापनाको काम चुनौतीपूर्ण बनेको थियो।
बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज अवस्था रहेको थियो। जोखिमपूर्ण भूगोल र निरन्तर कटानका बाबजुद सम्बन्धित सुरक्षा निकायले पुनर्स्थापनाको प्रयास अघि बढाएका थिए।
जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा पछिल्लो तीन दिनदेखि निरन्तर प्रयास गरिएको थियो। उक्त प्रयासपछि नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
भोटेकोशी बाढीका कारण सीमा क्षेत्रका सडक, पुललगायत विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा जोखिम कायमै रहेकाले सुरक्षा निकायले उद्धार, सीमा सुरक्षा तथा आवश्यक पुनर्स्थापनाका कामलाई निरन्तरता दिइरहेका छन्।
No advertisements available
प्रतिक्रिया 0