काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत तथा पुनर्निर्माणलाई सरकारले तीव्रता दिएको छ। बाढीका कारण प्रभावित भएका पुलमध्ये तत्काल मर्मत गर्नुपर्ने पुलको काम युद्धस्तरमा अघि बढाइएको हो।
यही भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनपछि क्षतिग्रस्त ५३ मध्ये २० वटा पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारले ती २० वटा झोलुङ्गे पुलको मर्मतका लागि भदौ १७ गते कार्यादेश जारी गरेको थियो। त्यसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको जनाइएको छ। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, बाढीबाट क्षतिग्रस्त भई पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ। यससँगै तत्काल मर्मत गर्नुपर्ने पुलको कामसँगै पुनर्निर्माण आवश्यक रहेका पुलको प्रक्रिया पनि अघि बढाइएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन क्षतिग्रस्त पुलहरूको शीघ्र मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकता दिइएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा प्रभावित क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0