काठमाडौं । अविरल वर्षासँगै देशभर बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना बढ्दा असोज ८ गतेदेखि हालसम्म २१ जनाको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। ५ जना घाइते र ५ जना बेपत्ता रहेको तथा मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको उनले जानकारी दिएका छन्। देशभर हालसम्म ४३९ वटा मनसुनजन्य घटना भएको बताइएको छ ।
विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायत पूर्वाधारमा क्षति पुगेको छ। राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ, जसमा प्रसारण टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा ठप्प भएका छन् भने जोखिमका कारण ६९५.२ मेगावाट क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथलगायत सडक प्रभावित भएका छन् भने नारायणीमा क्रुजसिप पुलमा अड्किएपछि पूर्व–पश्चिम राजमार्गसमेत बन्द गरिएको छ।
प्रधानमन्त्री शाहले सुरक्षा निकायहरू उद्धार तथा बेपत्ता नागरिकको खोजीमा परिचालित रहेको र प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको बताएका छन्। महाकाली, सेती, नारायणी र कमलालगायत नदीमा पानीको सतह बढेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा उच्च सतर्कता अपनाउन र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरिएको छ। संकटमा परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न तथा विपद्को समयमा भ्रामक सूचना र कालोबजारी नगर्न प्रधानमन्त्रीले अनुरोध गरेका छन्।
No advertisements available
प्रतिक्रिया 0