काठमाडौं । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये ऊर्जा तथा उत्पादन क्षेत्रले ठूलो हिस्सा ओगटेको छ। नेपाल राष्ट्र बैंकको ‘फरेन डाइरेक्ट इन्भेस्टमेन्ट इन नेपाल–२०२४/२५’ सर्वेक्षणअनुसार २०२४/२५ को मध्यसम्म नेपालमा वैदेशिक लगानीको कुल स्टक करिब ३४० अर्ब रुपैयाँ पुगेको छ।
कुल एफडीआई स्टकमध्ये उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको हिस्सा २७.८ प्रतिशत र विद्युत्, ग्यास, बाफ तथा वातानुकूलनसम्बन्धी क्षेत्रको हिस्सा २७.८ प्रतिशत रहेको छ। वित्तीय तथा बीमा क्षेत्रमा २६.३ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा ८.२ प्रतिशत र आवास तथा खाद्य सेवामा ७ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकका अनुसार २०२४/२५ मा नेपालमा कुल १२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो। यस अवधिमा ४.७ अर्ब रुपैयाँ बराबरको लगानी फिर्ता भएकाले खुद वैदेशिक लगानी करिब ७.३ अर्ब रुपैयाँमा सीमित भएको छ।
नेपालमा रहेको कुल एफडीआई स्टकमध्ये चुक्ता पुँजीको हिस्सा ५४.२ प्रतिशत रहेको छ। पुनर्लगानी तथा सञ्चित मुनाफाको हिस्सा ३६.९ प्रतिशत र अन्तरकम्पनी ऋणको हिस्सा ८.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। कुल एफडीआई स्टक अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले बढेको हो।
देशगत रूपमा हेर्दा भारत नेपालमा सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता बनेको छ। कुल एफडीआई स्टकमध्ये भारतको हिस्सा ३२.८ प्रतिशत रहेको छ। त्यसपछि चीनको ९.३ प्रतिशत, आयरल्यान्डको ७.३ प्रतिशत, अस्ट्रेलियाको ६.५ प्रतिशत र सिंगापुरको ५.४ प्रतिशत हिस्सा रहेको छ।
भौगोलिक रूपमा भने वैदेशिक लगानी बागमती प्रदेशमा अत्यधिक केन्द्रित रहेको छ। कुल एफडीआई स्टकमध्ये बागमतीमा मात्रै ६४ प्रतिशत रहेको छ। त्यसपछि कोशीमा १३.४ प्रतिशत, गण्डकीमा १० प्रतिशत र मधेसमा ६.८ प्रतिशत लगानी रहेको छ।
राष्ट्र बैंकको सर्वेक्षणले जलविद्युत् तथा उत्पादन क्षेत्र वैदेशिक लगानीका प्रमुख गन्तव्य भए पनि लगानी सीमित क्षेत्र र प्रदेशमा केन्द्रित रहेको देखाएको छ। पूर्वाधार, लगानी सहजीकरण, नियामकीय प्रक्रिया तथा परियोजना कार्यान्वयनमा सुधार गर्दै वैदेशिक लगानीको दायरा र प्रभाव विस्तार गर्नुपर्नेमा रिपोर्टले जोड दिएको छ।
No advertisements available
प्रतिक्रिया 0