अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सन्तुलित, सकारात्मक तथा निजी क्षेत्रको मनोबल बढाउने खालको रहेको भन्दै नेपालका बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले स्वागत गरेको छ। परिसंघले नीतिले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको हो।
सिबिफिनका अनुसार मौद्रिक नीतिले विद्यमान तरलता, न्यून ब्याजदर र स्थिर बाह्य क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने दिशामा सन्तुलित व्यवस्था गरेको छ। यसले व्यवसायी तथा लगानीकर्ताको आत्मविश्वास बढाउँदै आर्थिक गतिविधिमा थप गति आउने अपेक्षा गरिएको छ।
परिसंघले विशेषगरी निजी क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारलाई प्रोत्साहन गर्ने तथा बैंकिङ प्रणालीमार्फत आर्थिक चलायमानता बढाउने व्यवस्थालाई सकारात्मक रूपमा लिएको जनाएको छ। मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्यसहित निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने प्रयास गरेको सिबिफिनको भनाइ छ।
सिबिफिनले आगामी दिनमा मौद्रिक नीतिमा उल्लेख भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, बजेटसँगको समन्वय तथा निजी क्षेत्रमैत्री सुधारका कार्यक्रमलाई समयमै अघि बढाउन सके अर्थतन्त्रमा सकारात्मक परिणाम देखिन सक्ने विश्वास व्यक्त गरेको छ। साथै, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्दै उत्पादन, लगानी र रोजगारी विस्तारमा सरकार तथा नियामक निकायले निरन्तर सहयोग गर्नुपर्नेमा पनि परिसंघले जोड दिएको छ।
No advertisements available
प्रतिक्रिया 0